मिर्चैया नगरपालिका-५ मा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले (वाम गठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा मङ्सिर ८ गते बम विष्फोट भएको छ ।
सिरहा क्षेत्र नं. ४ नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेदवार पूर्व कानुनमन्त्री अजयशङकर नायकको चुनावी प्रचारप्रसारको कार्यालयमा दिउँसो ४ बजे कुकर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।
विष्फोट हुँदा सो ठाउँमा मानिसहरू नभएकोले मानवीय क्षति नभएको प्रहरीको भनाई रहेको छ । विष्फोटले गर्दा कार्यालयको भित्तामा समान्य क्षति पुगेको र घटनास्थलमा जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट फेला परेको डिएसपी बज्राचार्यले बताए ।
घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको र घटना गराउने समूहको खोजतलास भइरहेको डिएसपी बज्राचार्यले बताए ।