INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थापाविरूद्ध कारबाहीको माग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार सुनिलबहादुर थापाले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै  वाम गठबन्धनले मङ्सिर ८ गते कारबाहीको माग गरेको छ ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार थापाले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गर्दै हिलेदेखि पाख्रीवाससम्मको क्षेत्रमा गाडीमाथि स्पिकर राखेर माइकिङ गर्दै हिँडेकाले तत्काल रोक्न वाम गठबन्धनले माग गरेको छ ।

वाम गठबन्धन निर्वाचन परिचालन समिटीका सचिव नैन विश्वकर्माद्वारा हस्ताक्षरित पत्र प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई बुझाउँदै तत्काल उक्त कार्य रोक्न र आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन माग गरिएको छ ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचारप्रसारमा संलग्न भएको आरोप लगाउँदै वाम गठबन्धनले पाख्रीवास कृषि अनुसन्धान केन्द्रका कर्मचारीलाई पनि कारबाही गर्न माग गरेको छ ।

राष्ट्रसेवक कर्मचारी कुनै दल विशेषको प्रचारमा लाग्नु नहुने उल्लेख गर्दै वाम गठबन्धनले कृषि अनुसन्धान केन्द्रका कर्मचारी पदमबहादुर महत र रङ्गलाल राईलाई प्रचार कार्यमा संलग्न भएको भन्दै कारबाहीको माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले संयुक्त वाम गठबन्धनद्वारा कारबाहीको माग गर्दै उजुरी आएको पुष्टी गर्दै उजुरी पत्रमा उल्लेख भए अनुसार लोकतान्त्रिक गठबन्धनलाई तत्काल टेलिफोनमार्फत आचारसंहिता विपरीतको प्रचार अभियान रोक्न ध्यानाकर्षण गरिएको बताए ।

त्यस्तै पाख्रीवास कृषि अनुसन्धान केन्द्रका कर्मचारी कुनै पार्टी विशेषको चुनावी प्रचारमा लागेको भन्ने उजुरी आएकाले त्यसको सत्यतथ्य जानकारी गराउन केन्द्रका प्रमुखलाई निर्देशन दिइएको समेत प्रजिअ उप्रेतीले बताए ।

अन्य

भिडियो