गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरूवा गरी निर्वाचन आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति प्रदान नगर्ने निर्णय गरेको छ ।
साथै आयोगले मङ्सिर ७ गते नै गृह मन्त्रालयलाई पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरूवा गरेका रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी छन् ।
निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरूवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचारसंहितामा स्पष्ट रहेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको सिलसिलामा भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको व्यहोरा आयोगले स्मरण गराउँदै सहमति प्रदान नगर्ने निर्णय गरेको हो ।
सरूवा सन्दर्भमा माग भए बमोजिमको काज सरूवाका लागि सहमति प्रदान नगरिएको र उक्त काज सरूवाको निर्णयको सक्कलै फाइल ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र’ आयोगमा उपलब्ध गराउन आयोगले निर्देशन दिएको हो ।
गृह मन्त्रालयको मङ्सिर ४ को निर्णय अनुसार रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरूको (जसमध्ये तीन जना प्रजिअहरू) काज सरूवा गरी आयोगको सहमतिका लागि लेखेको पत्र मङ्सिर ५ गते प्राप्त भएको जनाएको छ ।