INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनको अन्तिम तयारी पूरा, स्वच्छ निर्वाचनका लागि प्रतिबद्ध

आगामी मङ्सिर १० गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको सुरक्षा अधिकारी र प्रमुख निर्वाचन अधिकृतले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचन पूर्वको अवस्था पर्यवेक्षण गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित अधिकारीसँग मङ्सिर ७ गते गरेको छलफलमा निर्वाचन स्वच्छ बनाउन हरतरहले प्रयास गरिरहेको बताइएको छ ।

प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले निर्वाचनको तयारीसँगै मङ्सिर ७ गते बेलुकासम्म सबै स्थानमा कर्मचारी खटिने बताए ।

मतदानस्थल र मतदान केन्द्रमा सबै सामग्री पठाइ सुरक्षाको प्रबन्ध मिलाइएको उनले जानकारी दिए । विगतका तुलनामा निर्वाचन आचारसंहिता पालनामा दलहरू समेतले सहयोग गरेर पालना भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका छिटपुट घटनाबाहेकका घटना नभएकोले यसलाई पनि उम्मेदवारहरूको छलफलपछि दलहरू आफैँले नियमन र पालना गरेको र निर्वाचन शान्तिपूर्ण र निष्पक्ष गराउन लागि परेको बताए ।

उत्तरी धादिङको रुबीभ्याली, खनियाबास र गङ्गाजमुनाका केही मतदानस्थलहरू भौगोलिक विकटता भएकोले मतदानपछि तत्काल मतपेटिका सुरक्षा गरी सदरमुकामसम्म ल्याउन नेपाली सेना र गृहमन्त्रालयसँग मिलेर काम गरिने गरी व्यवस्थापन मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी ध्रुबराज राउतले सुरक्षा व्यवस्था मिलाइएकोले मतदाताले ढुक्क भएर मतदान गर्न आग्रह गरे । जिल्लामा केही छिटपुट बाहेकका घटना नभएकोले सुरक्षा समान्य अवस्थामा रहेको उनले बताए ।

नागरिक समाजका प्रतिनिधिहरूले छलफलमा निर्वाचन आचारसंहिता विपरीतका केही कार्य भएपनि विगतको तुलनामा दलहरू संयमित भएको बताए ।

अन्य

भिडियो