INSEC Online

📅 २०८३ जेष्ठ २२

पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षण सम्बन्धी अभिमुखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ ।

Photo20171122Kathmandu

कार्यक्रममा निर्वाचन आचारसंहिता, पर्यवेक्षणको उद्धेश्य, पर्यवेक्षकका काम, कर्तव्य एवम् दायित्वका विषयमा जानकारी गराइएको थियो ।

निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको पालना भएको कुरा पर्यवेक्षणको माध्यमबाट समेत सुनिश्चित गर्ने विषयमा पर्यवेक्षणको मुख्य उद्धेश्य रहेकाले पर्यवेक्षकहरूले आचारसंहिता भित्र रहेर पर्यवेक्षण गर्नुपर्ने इन्सेक केन्द्रीय कार्यालय काठमाडौंका प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले बताए ।

निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवत जावत, सम्वेदनशील निर्वाचन सामग्रीहरू (मतपेटिका, मतपत्र आदि) को ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम र सञ्चार माध्यमहरूमा पहुँचलगायतको पर्यवेक्षण गनुपर्ने इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले बताए ।

पर्यवेक्षकले निर्वाचनसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिता अन्तर्गत रही निर्वाचनसम्बन्धी विषयमा स्पष्ट हुने, आयोग वा मातहतका अधिकारीहरूबाट जारी गरिएको अधिकार क्षेत्रसम्बन्धी जानकारी लिनुपर्ने इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका प्रलेख अधिकृत राजु पासवानले बताए ।

निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा तोकिए अनुसार राजनीतिक दलहरूको सहभागिता रहे/नरहेको विषयमा जानकारी लिनुका साथै निर्वाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासो बारे जानकारी लिने लगायतका बिषयमा पर्यवेक्षकले ध्यान दिनुपर्ने बिषयमा जानकारी गराइएको छ ।

निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणना लगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्ने विषयमा पर्यवेक्षकले ध्यान दिनुपर्ने बताइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने र सोको प्रर्यवेक्षण गर्नका लागि इन्सेकले देशैभरी ४ सय ९१ जना पर्यवेक्षक खटाउँदैछ ।

अन्य

भिडियो