शिवपुरी गाउँपालिका-४ सिक्रेका नेपाली काङ्ग्रेस कार्यकर्ता तथा शिवपुरी गाउँपालिकाका सदस्य उद्धव थापाको घरमा राखिएको दुई ओटा सुतली बम नेपाली सेनाले मङ्सिर ६ गते निष्क्रिय पारेको छ ।
घरको आँगनमा भेटिएको शङ्कास्पद वस्तुको पहिचान गर्न तथा विष्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट खटिएको नेपाली सेनाको टोलीले सो बम निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए ।
शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन सुतली बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।
थापालाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले गत भदौ ३१ गते मोसो दलेर दुर्व्यवहारसमेत गरेका थिए ।