२३ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पुस ९ गते गिरफ्तार गरेको छ ।
कटहरी गाउँपालिका-२ मा ०८१ पुस ९ गते अचेत अवस्थामा भेटिएकी महिलाको उद्दारपछि सामूहिक बलात्कार गरेको आरोपमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा स्थायी घर भएका १९ वर्षीय मोहम्मद गुल्जारलाई पुस ९ गते गिरफ्तार गरेको हो ।
घरबाट पराल लिन गएको अवस्थामा आरोपितहरूले पीडित महिलाको हात गोडा बाँधेर बाँस झ्याङ्गमा पुर्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।
स्थानीयले महिलालाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कपडा च्यातिएको, शरीरका केही भागमा निलडाम देखिएको आधारमा महिलालाई हातगोडा बाँधेर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको उद्दारपछि पुस ९ गते कोशी अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ ।