INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा उदयपुरबाट माओवादी मजदुर पार्टीका केन्द्रिय अध्यक्ष सुनकोशी गाँउपालिका ५ स्थायी घर भई हाल त्रियुगा नपा-११ मा बस्दै आएका ५० वर्षीय हिमालसिंह राईलाई गिरफ्तार गरेको छ ।

इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार राईसँगै नेकपा उदयपुर जिल्ला कमिटी सदस्य त्रियुगा नपा-३ मोतिगडाकी ३० वर्षीया जानुकामाया तामाङलाई मङ्सिर ५ गते गिरफ्तार गरेको हो ।

दुवैलाई आफ्नै घरबाट अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए । उनका अनुसार निर्वाचन बिरोधी गतिबिधिमा संलग्न हुन सक्ने आशंकामा दुबैलाई गिरफ्तार गरीएको हो । दुबैलाई म्याद थप गरी अनुसन्धान सुरू गरिएको जनाइएको छ ।

गिरफ्तार परेका राईको साथबाट प्रहरीले माओवादी मजदुर पार्टी लेखिएको लेटरप्याड चार थान, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गरौँ भनी लेखिएको पम्ल्पेट २ सय १६ थान, नयाँ जनवाद लेखिएको किताब एक थान, माओवादी मजदुर पार्टीको तदर्थ समिति घोषणा पत्र-२०७३ लगायतका सामान जफत गरको डिएसपी अधिकारीले बताए ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार डडेल्धुराको परशुराम नपा-६ सिसमजालाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

परशुराम नपा-७ स्थायी ठेगाना भई हाल धनगढी उपमहानगरपालिका बस्दै आएका धर्मसिंह नेगी (विचित्र) लाई सिमा प्रहरी चौकी तातापानीको टोलीले गिरफ्तार गरेको हो ।

जोगवुडाबाट धनगढी जाने क्रममा उनलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय जोगबुडामा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।

इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाइ नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका-१ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको मेची अञ्चल प्रहरी प्रमुख (एसएसपी) पिताम्बर अधिकारीले जानकारी दिए ।

एक साता यता चुनाव विरोधी गतिविधिमा संलग्न देखिएका र चुनाव विथोल्ने कार्यका शङ्कास्पद देखिएकाले उनीहरूलाई गिरफ्तार गरिएको एसएसपी अधिकारीको भनाई छ । गिरफ्तार गरिएका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको इलामका डिएसपी रमेश बस्नेतले बताए ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले ताप्लेजुङबाट ९, पाँचथरबाट १२ र झापाबाट ९ सहित मेचीका चारै जिल्लाबाट ३४ जनालाई गिरफ्तार गरिएको अञ्चल प्रहरीका एसएसपी अधिकारीले जानकारी दिए ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सल्यान कुमाखमालिका-७ जिमालीका ४६ वर्षीय जङ्गबहादुर चन्द, कुमाखमालिका-६ बडागाउँका ५३ वर्षीय सहविर नेपाली र बागचौर­-३ का ३७ वर्षीय खुमबहादुर वलीललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

चुनाव विरोधी गतिविधि गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको डिएसपी भरतकुमार बिकले जानकारी दिए । यसअघि मङ्सिर ३ गते कम्युनिष्ट पार्टीका धनबहादुर विष्टलाई गिरफ्तार गरेको डिएसपी बिकले बताए ।

अन्य

भिडियो