निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर प्रचारप्रसार गरेपनि नियमनकारी निकाय मौन छ ।

एकसाता अघिबाटै सदरमुकाम खलङ्गाको जिल्ला पशु सेवा कार्यालय, नेपाल टेलिकम अगाडिका क्षेत्रमा प्रचार पम्पलेट टाँस गरेपनि अनुगमनकारी नियकाले देख्न सकेको छैन । सदरमुकाम खुलामञ्च छेउमै रहेका ती सरकारी कार्यालयमा वाम गठबन्धन र नेपाली काङ्ग्रेसको प्रचार पम्पलेटहरू टाँस गरिएका छन् ।

निर्वाचन आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, सार्वजनिक संस्थानको भवन, पर्खाल, स्मारक, सडक, खम्बा वा संरचनालगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख भएपनि दार्चुलामा भने यो आचारसंहिता कार्यान्वयन भएको छैन ।
बजारमा सरकारी कार्यालय लक्षित गरेर ठूलाठूला व्यानर टाँस गरिएका छन् । सदरमुकाम खलङ्गा मात्रै हैन ग्रामीण भेगसम्म ठाउँठाउँमा पोष्टरहरू टाँस गरिएका छन् ।

यस पटक विद्यालय क्षेत्रमा चुनावी सभा कमी भएपनि सार्वजनिक स्थलको प्रयोग गर्दै पर्चा पम्प्लेट टाँसेर निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको छ । यस्तै आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख भएपनि दार्चुलाका विभिन्न क्षेत्रमा राजनीतिक दलहरूले बिहानैदेखि बेलुकासम्म ठूलो स्वरमा लावडस्पिकरको प्रयोग खुलेयाम बजाइरहेका छन् ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाउनु भएका जिल्ला अदालत दार्चुलाका श्रेस्तादार शेरबहादुर विष्टले दलहरूलाई पटकपटक आचारसंहिता उल्लङ्घनबारे सचेत गराइएको बताए । उल्लङ्घनसम्बन्धी अनुगमन तथा उजुरी उपर दलहरूलाई सचेत गराइएपनि दलहरूले कार्यान्वयन गर्न नसकेको उनले बताए ।