INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई विष्फोटक पदार्थसहित प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा पर्वत जिल्ला पैयुँ-३ का दिवस भुसाल, तनहुँ जिल्ला रिसिङ-२ का अरूण गिरी, माडी नगरपालिका-४ का रमेश श्रेष्ठ र माडी नगरपालिका-५ की टीका न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।

उनीहरूको साथबाट पाँच किलो विष्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको प्रहरीले जनाएको छ । उक्त वस्तुहरू कुनै पनि भाडामा राखेर पड्काउन प्रयोग गरिने प्रहरीले जनाएको छ ।

चितवनमा मङ्सिर ५ गते वाम गठबन्धनको आमसभाको आयोजना गरिएको छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने जनाइएको छ ।

इन्सेक रूकुम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

मङ्सिर ३ गते जिल्लाका विभिन्न स्थानबाट विद्युतीय तार, व्याट्री र दस्तावेजसहित उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

यसअघि कात्तिक २३ गते विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य मोतिराम खड्कालाई गिरफ्तार गरेको थियो ।

यसपटक गिरफ्तार हुनेहरूमा पार्टी जिल्ला सल्लाहकार सदस्य त्रिवेणी गाउँपालिकाका-३ का ५२ वर्षीय प्रेम खड्का, पार्टी जिल्ला सदस्यहरू मुसिकोट नपा-६ का ३८ वर्षीय हिरामणी रावत र मुसिकोट नपा-६ का २९ वर्षीय बालचन्द्र गिरी, किसान सङ्गठन सल्यान-रूकुमका इञ्चार्जसमेत रहेका त्रिवेणी गाउँपालिका-६ का ४१ वर्षीय मकर वली, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष आठविसकोट नपा-५ का २५ वर्षीय सुरेन्द्र बस्नेत, उपाध्यक्ष त्रिवेणी गाउँपालिका-२ का २५ वर्षीय कृष्ण विसी, सचिव त्रिवेणी गाउँपालिका-२ का १७ वर्षीय प्रेमप्रशान्त बोहरा र सहसचिव मुसिकोट नपा-१४ का १८ वर्षीय हरि विष्ट रहेका छन् ।

त्यस्तै राष्ट्रिय युवा स्वयम्सेवक सदस्य शान्तिनगर गाउँपालिका-५ दाङका २२ वर्षीय उद्धव शाह, पार्टीका कार्यकर्ताहरू चौरजहारी नपा-७ का ४२ वर्षीय कपिलेश्वर विश्वकर्मा, आठविसकोट नपा-११ का ४० वर्षीय गम्भीर सेर्पाली भन्ने गोर्खे कामी, बाँफिकोट गाउँपालिका-४ का १७ वर्षीय पूर्णजङ्ग खड्का, सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय हुकुम खड्का, कुमाख गाउँपालिका सल्यानका २८ वर्षीय गणेश विश्वकर्मा र तुलसीपुर उपमहानगरपालिका-३, दाङका २५ वर्षीय सुरेन्द्रबहादुर गुरूङलाई पनि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)ले जनाएको छ ।

इन्सेक डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मुड्केचुला गाउँपालिका-२ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ४२ वर्षीय राजेश बुढालाई प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

मुड्केचुला गाउँपालिकालगायतका ठाउँमा निर्वाचन विरोधी गतिविधि गरेको जानकारी पाएपछि प्रहरीले बुढालाई कालिका गाउँबाट गिरफ्तार गरेको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको घरमा मङ्सिर १ गते निर्वाचन खारेज गरौँ भन्ने नारा अङ्कित कालो ब्यानरसहित पर्चा पम्प्लेट टाँस्नुका साथै स्थानीय पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले बताए ।

कालिकोट जिल्लाका अजिव विष्टको नेतृत्वमा डोल्पामा ३५ देखि ४० जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निर्वाचन विरोधी गतिविधि गर्न डोल्पाका विभिन्न गाउँ आएको प्रहरीले आरोप लगाएको छ ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार निर्वाचन विरोधि क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा किसान सङ्घका केन्द्रिय सदस्य  ६५ वर्षीय पुष्प कार्की रहेका छन् ।

कार्कीलाई पोखरा-लेखनाथ महानगरपालिका-१८ बाट मङ्सिर ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले रोल्पा जिल्ला सुवर्णवती गाउँपालिका- ४ घर भई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ३४ वर्षीय पदम के.सी. (जुझारू) र बर्दघाट नपा-४ बाढिपीडित निवासी २३ वर्षीया मोहन सापकोटालाई मङ्सिर ४ गते सुनवल नपा-१२ स्थित भुमहीबाट गिरफ्तार गरेको छ ।

देशका विभिन्न ठाउँमा विष्फोटका घटनाहरू बढ्दै गई मानवीय र भौतिक क्षति हुन थालेपछि सुरक्षाको प्रत्याभूति दिलाउने प्रयास स्वरूप आरोपितहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनवल नपा-११ जर्घा निवासी ४६ वर्षीय आत्माराम आचार्यलाई मङ्सिर १ गते गिरफ्तार गरेको थियो ।

इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मङ्सिर ३ गते फिदिम नपा-५ स्थित सरस्वती माविका शिक्षक नारायण कार्कीलाई गिरफ्तार गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा शिक्षकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वामदेव गौतमले बताए ।

शान्तिपूर्ण रूपमा निर्वाचन गर्ने जिम्मेवारी राज्यको भए पनि आस्था राखेकै आधारमा कुनै पनि पार्टीका कार्यकर्ता गिरफ्तार गर्ने अभियान ठीक नभएको नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य सुर्य निरौलाले बताए ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीकी जिल्ला सदस्य विमला आलेलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

आलेलाई मङ्सिर ४ गते दमौलीको भार्लेटार चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज पाण्डेले जानकारी दिए ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा केही दिन अघि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर बिक र मङसिर ३ गते नरेश बिकलाई प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार बुटवल उप-महानगरपालिका-३ स्थित गोलपार्कमा बिहान फेला परेको शंकास्पद वस्तु राखेर आम नागरिकमा त्रास फैलाएको तथा निर्वाचन विरोधि गतिविधि गरेको आरोपमा प्रहरीले तानसेन नपा-५ धर्मपाली घर भई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ३९ वर्षीया पार्वती बिक र तिनाउ गाउँपालिका-२ दोभान घरभई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ३२ वर्षीय भुवन जिसीलाई गिरफ्तार गरेको छ ।

निर्वाचन विरोधि गतिविधि गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।

अन्य

भिडियो