INSEC Online

📅 २०८३ जेष्ठ २२

समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फराजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको अन्तिम बन्दसूची निर्वाचन आयोगले मङ्सिर ३ गते सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधि सभा सदस्यतर्फ २ हजार २ सय ७३ उम्मेदवार कायम रहेका छन् । यसैगरी, सात ओटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेश सभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम रहेका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १ मा ५ सय ७७, प्रदेश नम्बर २ मा ८ सय ४, प्रदेश नम्बर ३ मा ७ सय ७४, प्रदेश नम्बर ४ मा ३ सय १९, प्रदेश नम्बर ५ मा ६ सय ४, प्रदेश नम्बर ६ मा २ सय ६, र प्रदेश नम्बर ७ मा २ सय ८१ उम्मेदवार कायम रहेका छन् ।

आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकालभरी मान्य हुने छ । यसअघि दलहरूले असोज २९ गते पेश गरेका उम्मेदवारहरूको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फप्रतिनिधि सभाका लागि ४९ राजनीतिक दल र प्रदेश सभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरू बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

अन्तिमरूपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरूमध्ये २ सय ५६ जना उम्मेदवारको नाम हटेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

अन्य

भिडियो