INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन आयोगद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई शान्ति पूर्ण र भयरहित वातावरणमा जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित् गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा चुनावी कार्यक्रमलाई लक्षित गरी भइरहेको हिंसात्मक घटनाले मानव अधिकारको उल्लङ्घन भएको जनाउँदै आयोगले मङ्सिर ३ गते प्रेस विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा रौतहट, भोजपुर, लमजुङ र नुवाकोटलगायतका जिल्लामा बम विष्फोट भई एक जना बालकसहित दर्जनौँ व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

राजनीतिक दलका चुनावी कार्यक्रम एवम् उम्मेदवारहरूलाई लक्षित गरी भएका श्रृङ्खलाबद्ध बम आक्रमणका घटनाहरूले निर्वाचन सुरक्षा व्यवस्था फितलो हुँदै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यस्ता घटनाहरूबाट मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ लगायतका नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धीहरू, नेपालको संविधान लगायतका कानुनहरू, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनको समेत उल्लङ्घन भएको छ ।’-विज्ञप्तिमा भनिएको छ ।

अबोध बालकसहित निर्दोष व्यक्तिहरू घाइते हुने गरी भएका अमानवीय घटनाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र घाइते व्यक्तिहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न आयोगले विज्ञप्तिमार्फत सरकारसँग आग्रह गरेको छ ।

साथै आफ्ना राजनीतिक विचारलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।

अन्य

भिडियो