निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासँग आयोगले मङ्सिर ३ गते गरेको अन्तरक्रिया कार्यक्रममा सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा नागरिक समाजका अगुवाहरूले दिएका सुझावलाई आयोगले गम्भीररूपमा लिने र निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् धाधलीरहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गराउने लगायतका विषयमा आयोगले आवश्यक निर्णय गर्ने संवैधानिक हैसियत राख्ने भएको हुँदा संवैधानिक दायित्व अनुसारको कार्य गरी सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज भण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । यसैगरी पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको व्यवस्थापनको जिम्मा निर्वाचन आयोगको भएतापनि निर्वाचनको महाअभियानलाई सफल तुल्याउनु सबैको जिम्मेवारी रहेको बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीन ओटा मतपत्रका कारण मतदाता दोधारमा रहने अवस्थालाई अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरूपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन आवश्यक रहेको बताए ।
लोक सेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचारप्रसारको शैलीमा सुधार आएको भएपनि बदलिँदो समयअनुसार आचारसंहितालाई परिमार्जन गर्ने बेला भइसकेको बताए । पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले राजनीतिक दलहरूलाई आचारसंहिता पालनाको दायराभित्र ल्याउन आयोग डराउनु नपर्ने बताए ।
निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, धाँधलिरहित र विश्वासनीयरूपमा कार्यसम्पादन गर्न/गराउन सबैबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
सङ्क्रमणकालीन अवस्थाबाट स्थायित्वतिर अघि बढिसकेको बताउँदै उनले नयाँ व्यवस्था र नौलो पद्धति अनुसारको निर्वाचन एकै पटक दुई चरणमा हुन गइरहेको अवस्थामा नागरिक समाजका अगुवाबाट प्राप्त हुने सुझाव सल्लाह आयोगलाई महत्वपूर्ण हुने बताए ।