वाम गठबन्धनका कार्यकर्ताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा मङ्सिर ३ गते तालाबन्दी गरेका छन् ।
सबै प्रक्रिया पुरा गरी ५२ ओटा मतदानस्थलका कर्मचारीले नियुक्तिपत्र बुझेर गइसकेको अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकाएक निर्णय परिवर्तन गरी कर्मचारी फिर्ता बोलाउने भनी गरेको निर्णयको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरिएको जनाइएको छ ।
मतदानस्थल कब्जा गर्ने रणनीतिका साथ आफू अनुकूलका कर्मचारी खटाउन सरकारले षड्यन्त्र गरेर यस्तो निर्णय गरेकाले त्यसो हुन नदिनका लागि दबावस्वरूप तालाबन्दी गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवम् वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर थापाले बताए ।
मुख्य निर्वाचन अधिकृतले सम्पादन गरेको काम कारबाही माथि नै प्रश्न उठेको बताउँदै वाम गठबन्धनका कार्यकर्ताहरूले बजारमा नाराबाजी समेत गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएपछि निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतम सहितका कर्मचारी कार्यालय भित्र करिब एक घण्टा थुनिएका थिए । आयोगले निर्णय फिर्ता नलिएसम्म तालाबन्दी जारी राख्ने वाम गठबन्धनले जनाएको छ ।
मतदान अधिकृत छनौटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी गरेको भन्दै काङ्ग्रेस निकट कर्मचारीहरूले मङ्सिर १ गते विरोध स्वरूप आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।
निर्वाचन आयोग र मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई कुनै दलको नेताले दबाव दिँदैमा प्रभावित नहुने मूख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए । उनले तत्काल बैठक बस्ने र छलफलपछि निष्कर्षमा पुग्ने जानकारी दिए ।