चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ जना घाइते भएका छन् । घाइते मध्ये एक बालकसहित तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा संयुक्त बाम गठबन्धनले चन्द्रपुर नगरपालिका वडा नं. ५ स्तरीय संयुक्त भेलाको आयोजना गरेको थियो । भेलाको समापनपछि खाजा वितरणको क्रममा मन्दिरको मूल ढोका अगाडि जमीनमुनी विछ्याइएको बम विष्फोट भएको भेलाका प्रमुख अतिथि नेकपा एमालेका पूर्व सांसद रामकुमार भट्टराईले बताए ।

विष्फोटमा परी घाइते हुनेमा चन्द्रपुर नगरपालिका-५ की ३१ वर्षीया सरिता राई, उनको सात वर्षीय छोरा जिसम राई, चन्द्रपुर नगरपालिका-५ का ४५ वर्षीय लक्ष्मी राई, ५४ वर्षीय रामबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई र ५० वर्षीया यमुना काफ्ले रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घाइतेमध्ये सरीता राई र उनको छोरा जिसम राईको अवस्था गम्भीर भएकाले चन्द्रनिगाहपुरमा उपचार हुन नसकी भरतपुर पठाइएको छ भने अन्य घाइतेहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

संयुक्त बाम गठबन्धनको भेलालाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज भट्टराई र नेकपा एमालेका केन्द्रीय सदस्य कल्याणी खड्काले सम्बोधन गरी उनीहरू फर्किएका थिए ।
पूर्व सांसद तथा एमाले नेता रामकुमार भट्टराईले सम्बोधन गरी भेला समापन भएपछि सहभागीहरूलाई मन्दिर परिसर बाहिर खाजा वितरण गर्न लाग्दा जमीन मुनि विछ्याइएको बम विष्फोटन भएको थियो ।
घटनाको प्रकृति हेर्दा रिमोटबाट विष्फोटन गराइएको हुन सक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तराम कोइरालाले बताए । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । घटनाको अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए ।