निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । हिमा गाउँपालिकामा स्थित बुअ प्रहरी चौकीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मङ्सिर १ गते साझ गिरफ्तार गरेको थियो ।
हिमा गाउँपालिका-७ का हैत बुढा र सोही गाउँपालिका-५ का कुलबहादुर शाहीलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका असई चुडामणि पुनले बताए ।
उनका अनुसार मङ्सिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुनै अप्रिय घटना नहोस् भन्ने उद्धेश्यले अनुसन्धानका क्रममा हिमा गाउँपालिकाबाट प्रहरीमा नियन्त्रणमा लिएको पुनले बताए ।
निर्वाचन विरोधी गतिविधि हुन सक्ने भन्दै दुवै जनालाई निर्वाचन सम्पन्नसम्म प्रहरी नियन्त्रणमा राखिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लामा विप्लव नेतृत्वका पार्टीका नेता कार्यकर्ताले निर्वाचन बिथोल्न कुनै अप्रिय काम नगरे पनि पुर्व सजकता बनाउनको लागि अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनायो ।
कात्तिक ३० गते हिमा गाउँपालिकाको रनुखाना गाउँमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि गाउँमा पुगेका मतदाता शिक्षा कार्यकर्ताबाट निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रतिनिधि र प्रदेश सभाको निर्वाचन खारेजी गरिनु पर्दछ भन्दै चुनाव विरोधी गतिविधि चलाई रहेको छ ।
इन्सेक तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता तथा कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
प्रहरीले नेकपाका म्याङलुङ नगर कमिटी सदस्य शशीधर ठटाललाई म्याङलुङ बजारबाट गिरफ्तार गरेको छ । फेदाप गाउँपालिकाबाट रामकृष्ण रिजाल र ईसिबुबाट गौरी सापकोटालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
केही दिन अघि भोजपुर, सङ्खुवासभा लगायतका छिमेकी जिल्लामा उम्मेदवारमाथि बम प्रहारको घटना भएपछि प्रहरीले जिल्लामा सुरक्षा सतर्कता समेत बढाएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले बताए । उनका अनुसार प्रहरीद्वारा गिरफ्तार परेका सापकोटाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
आपसपासका जिल्लामा निर्वाचन विरोधी र उम्मेदवार लक्षित गतिविधि एकपछि अर्को गर्दै बढ्न थालेपछि तेह्रथुममा पनि यस्ता गतिविधी बढ्न सक्ने भन्दै नेकपाका कार्यकर्ता गिरफ्तार गर्न थालिएको प्रहरीले जनाएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।