INSEC Online

📅 २०८३ जेष्ठ २२

हिंसात्मक घटनाप्रति आयोगद्वारा दुःख व्यक्त गर्दै सुरक्षा व्यवस्था मिलाउन आग्रह

निर्वाचन आयोगले निर्वाचनका गतिविधिमा असर पर्ने गरी केही स्थानमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले मङ्सिर १ गते उम्मेदवार तथा मतदाताहरूलाई हतोत्साहित गर्ने एवम् निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने गरी उम्मेदवार लक्षित हिंसात्मक घटना घटाइएको प्रति दुःख व्यक्त गरेको हो ।

‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर भएको बेला हिंसात्मक घटनाहरू भएकाप्रति आयोग दुःख व्यक्त गर्दछ ।’-आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन विरोधी हिंसात्मक घटना नगर्न, नगराउन सम्बद्ध सरोकारवालाहरूलाई आयोगले निर्देशन समेत दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

आयोगले निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त रहेको भन्दै थप सुरक्षा सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ ।

उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवम् निर्वाचनका सरोकारवालासँग आयोगले अनुरोध गरेको छ ।

अन्य

भिडियो