धनुषा क्षेत्र नं-३ मा नेपाली काङ्ग्रेसका उम्मेदवारसमेत रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिले आचारसंहिता विपरीत झण्डा, पोष्टर र व्यानर प्रयोग गरेका छन् ।

उनले चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोगसमेत गरेको पाइएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले बालबालिकालाई विमलेन्द्र निधिको फोटो भएको सानो पोष्टर र चुनाव चिन्ह रूख भएको पोष्टर विद्यालय, सार्वजानिक स्थलहरूमा टाँस्न लगाएका हुन् ।
त्यसैगरी निर्वाचन आचारसंहिता विपरीत ठूलाठूला फोटोसहितका व्यानर चुनाव प्रचारको लागि राखिएको छ । नेपाली काङ्ग्रेसका नेता निधिले जनकपुर उमनपा-१ स्थित आफ्नो घर अगाडि मापदण्ड विपरीत ठूलाठूला दुई ओटा व्यानरहरू टाँगेका छन् ।

उनीहरूले क्षेत्र नं-३ प्रतिनिधि सभा सदस्यको लागि नेपाली काङ्ग्रेसका उम्मेदवार विमलेन्द्र निधी, प्रदेश सभा सदस्यको लागि ३(क) का उम्मेदवार रामसरोज यादव र ३(ख)का उम्मेदवार श्यामप्रसाद साहको फोटो रहेका व्यानर टाँगेका हुन् ।
नेपाली काङ्ग्रेस र राजापा-फोरम उम्मेदवारहरूले जनकपुर मुख्य बजारमा फोटो भएका प्रचार सामग्री र पार्टीका झण्डा झुण्ड्याएका छन् ।
उनीहरूले सार्वजानिक ठाउँ र पाटी पौवामा सडक जाम गरी चुनावी कार्यक्रमहरू समेत गर्ने गरेको आरोप छ ।
उम्मेदवारहरूले खुलमखुल्ला आचारसंहिता विपरीतका गतिविधि गरेको भएपनि जिल्ला निर्वाचन कार्यालय तथा सरोकारवाला निकाय बेखबर जस्तै छन् ।