सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले मङ्सिर ५ गते बचत रकम फिर्ता गराउन दबाब दिन काठमाडौँको विभिन्न स्थानबाट गरेको आन्दोलनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले लाठी चार्ज गर्दा १२ जना घाइते भएका छन् ।
मªसिर ५ गते साढे ११ बजे उपत्यकाका विभिन्न ५ स्थानमा भेला भइ दबाबमूलक कार्यक्रम सम्पन्न भयो। त्यसपछि काठमाडौंको चाबहिल चोक, कालिमाटी, सोह्रखुट्टे चोक, ललितपुरको पुल्चोक र भक्तपुरको गठ्ठाघर चोकमा सहकारी पीडितहरू भेला भएका थिए।
यसरी विभिन्न क्षेत्रमा शान्तिपूर्ण भेला सम्पन्न भए पनि माइतीघरमा भने प्रहरी र सहकारी पीडितबिच झडप भएको थियो । पीडितहरू निषेधित क्षेत्र नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा सहकारी पीडित आन्दोलनकारीलाई प्रहरी लाठी चार्ज गरेको स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्था कालिमाटीका प्रतिनिधि सुमन खनालले जानकारी दिनु भयो ।
प्रहरीको लाठी प्रहारबाट सहकारी पीडित महासङ्घका अध्यक्ष कुशलभ केसी, हेमबहादुर श्रेष्ठ, चावाहिल क्षेत्रका संयोजक सन्तोष पन्त, वृन्दा राई, कुमारी थापा, रीना गिरी, पूर्णबहादुर तामाङ, श्याम राई, शुशिला शाही, राजकुमार ढकाल, श्याम गिरी र नरबहादुर श्रेष्ठ घाइते भएको संयोजक खनालले बताउनु भयो ।
प्रहरीको लाठीबाट सहकारी पीडित महासङ्घका अध्यक्ष कुशलभ केसी पनि घाइते हुनु भयो । उहाँलाई तत्काल ट्रमा सेन्टरमा लगेर उपचार गरेको सुमन खनालले बताउनु भयो । अन्य केहीको उपचार भइरहेको र केही उपचार पश्चात डिस्चार्ज हुनुभएको खनालले जानकारी दिनु भयो ।