
लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रविरुद्ध ०८१ कात्तिक २७ गतेदेखि सक्रिय युवा सञ्जालको अगुवाइमा युवा तथा स्थानीयहरू विरोध प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् ।
सञ्जालका अध्यक्ष रोशनकुमार यादवका अनुसार लक्ष्मीनिया गाउँपालिकाका जनताहरू छ महिनादेखि प्रशासनिक सेवाबाट वञ्चित भएका छन् । गाउँपालिका मातहतका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले ६ महिनादेखि तलब भत्ता पाएका छैनन् । सरकारले प्रदान गर्दै आएको बृद्ध भत्ता, एकल महिला भत्ता, पोषण भत्तालगायतका सेवा रोकिएको छ । यसरी सुविधाबाट वञ्चित हुँदा ज्येष्ठ नागरिकहरूको अवस्था झनै दयनीय बनेको छ र उनीहरूले भत्ता नपाउँदा उपचारको लागि आवश्यक पैसा जुटाउन पनि नसकेकोले आन्दोलन गर्न बाध्य भएको सञ्जालका अध्यक्ष रोशनकुमार यादवले बताउनु भयो ।

“गाउँपालिका अध्यक्ष मिश्रले जनताको समस्या समाधान नगरे हामी कडा आन्दोलन गर्नेछौं”- सञ्जालका अध्यक्ष यादवले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष मिश्रले व्याक्तिगत स्वार्थका कारण अहिलेसम्म पनि गाउँपालिकाको सभा सम्पन्न गर्न नसकेको आरोप वरिष्ठ उपाध्यक्ष आरपी यादवको रहेको छ । तसर्थ गाउँका समस्याहरू समाधान हुन नसेको र पालिकाको विकास निर्माणका कार्यहरूसमेत प्रभावित भएको उहाँले बताउनु भयो ।
“नेपाल सरकारद्वारा बालबालिकालाई दिइने पोषण भत्ता लक्ष्मीनिया गाउँपालिकाका बालबालिकाहरूले ६ महिनादेखि पाएका छैनन्” सञ्जालका सचिव सचिन शाहले बताउनु भयो ।
पटकपटक वडा कार्यालय र गाउँपालिकाको कार्यालय धाए तापनि आफूहरूले ६ महिनादेखि समाजिक सुरक्षा भत्ता नपाएको लक्ष्मीनिया गाउँपालिका–४ की एकल महिला तथा ज्येष्ठ नागरिक ७५ वर्षीया रिमा यादवले गुनासो गर्नुभयो । ज्येष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता नपाउँदा जीवन निर्वाहमा समेत समस्या भएको उहाँले बताउनु भयो ।
समाजिक सुरक्षा भत्ताको रकमले एकल महिला, अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले घरखर्च चलाउनेदेखि औषधि उपचार गर्दै आएकोमा पहिलो चौमासिक रकम नै हालसम्म नपाएकोले समस्या भएको स्थानीय ८१ वर्षीय बेचन शाहले दुःखेसो पोख्नु भयो ।
गाउँपालिकाका अध्यक्षले इमानदारीपूर्वक काम गर्न नसक्दा एकल महिला, अपाङ्गता र ज्येष्ठ नागरिकहरू समाजिक सुरक्षा भत्ता बापतको रकम पाउनबाट वञ्चित भएको स्थानीय युवा अभियन्ता नरेश सिंहको भनाइ रहेको छ ।
यता, “समान्य प्रशासन मन्त्रालयको बदमासीले प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झालाई सरुवा गरेर यहाँ पठायो, त्यसैले मैले हाजिर गराइन”- गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले भन्नु भयो । सामान्य प्रशासन मन्त्रालयकै बदमासीको कारण पालिका विवादमा फसेको अध्यक्ष मिश्रले गुनासो गर्नुभयो । अधिकृत झाले गैरकानुनी रुपमा हाजिर गरेर मनपरी गरिरहेको आरोप उहाँको रहेको छ ।
