मानव अधिकारकर्मी एवम् लोकतन्त्रका अग्रज पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा ०८१ मङ्सिर २ गते उपचारको क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर ३ गते जारी शोक वक्तव्यमा भनिएको छ- ‘नेपालको संसदीय इतिहासमा उहाँले देखाउनु भएको मार्गदर्शन, मानव अधिकार प्राप्तीको उन्नत सोच, शान्ति प्रकृयाको सुत्रधारका रुपमा नेपाली इतिहासमा उहाँको नाम अजर रहनेछ । ‘जनताको हक हित संरक्षण गर्ने मुख्य दायित्व संसद्को हुने भए पनि हाल नेपालको संसद जनताको अधिकार संरक्षणमा खरो उत्रन नसकेकोमा’ उहाँ चिन्तित हुनुहुन्थ्यो । दश वर्ष लामो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका, लोकतन्त्र, मानव अधिकार र विधिको शासन स्थापनाका लागि गर्नुभएको योगदानका कारण उहाँ सधैँ स्मरणमा रहनुहुनेछ ।’