INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित बनाउः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित वातारणमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

कात्तिक २९ गते आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरू माथि चुनावी प्रचारप्रसारको क्रममा आक्रमण भएपछि यस्तो आग्रह गरेको हो ।

आयोगले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबाट आक्रमण गर्ने, उम्मेदवारलाई प्रचारप्रसारमा बन्देज गर्ने, सम्पत्ति कब्जा गर्ने, डर, त्रासको वातावरण सिर्जना गर्नुका साथै मतदान गरे मतादातालाई नै कारबाही गर्ने जस्ता धम्कीका कारण भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने मतदाताको अधिकार तथा स्वतन्त्र, निर्भयतापूर्वक र शान्तिपूर्ण ढङ्गाबाट प्रचारप्रसार गर्न पाउने उम्मेदवारको अधिकारको उल्लङ्घन भएको ठहर गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचारप्रसारका क्रममा रूकुम, रोल्पा, भोजपुर, म्याग्दी, सङ्खुवासभा, गोरखालगायतका जिल्लाहरूमा उम्मेदवार तथा कार्यकर्ताहरूलाई लक्षित गरी सृङ्खलाबद्ध रूपमा भएका गोली तथा बम प्रहारका घटनालगायतका निर्वाचन विरोधी गतिविधिहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा निर्वाचनको विरोधमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबाट उम्मेदवारको घरमा कालो झण्डा राख्ने तथा सम्पत्ति कब्जा गर्ने, मतदातालाई मतदान गरे कारबाही गरिने धम्की दिने, निर्वाचनको प्रचारप्रसारमा अवरोध गर्ने र निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूबिच भएका झडपलगायतका तथ्यहरू प्राप्त भएको जनाउँदै आयोगले शान्ति सुरक्षाको व्यवस्था गर्न आग्रहसमेत गरेको छ ।

‘स्वच्छ, स्वतन्त्र र आवधिक निर्वाचन लोकतन्त्र र मानव अधिकारको पर्याय हो । यसको सम्मान गर्नु सबै नागरिकको कर्तव्य पनि हो । नागरिक तथा राजनीतिक विषयक अनुबन्धलगायतका अन्तर्राष्ट्रिय र नेपालको संविधानलगायतका राष्ट्रिय कानुनहरूबाट प्राप्त अधिकारको पूर्ण उपभोगमा अवरोध गर्ने जो कसैलाई पनि विगतमा सरकारबाट कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटनारू बारम्बार भइरहेको आयोगको निष्कर्ष रहेको छ ।’-जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो