नेपाल टेलिकममा स्थापनाकालदेखि नै कार्यरत २९ जना कर्मचारीलाई बिना सूचना निष्काशन गरेको भन्दै २९ जना कर्मचारी आन्दोलित भएका छन् । दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई कात्तिक १२ गते कामबाट निष्काशन गरेको हो ।
प्रहरीले आन्दोलनरत कर्मचारी मध्ये १४ जनालाई आन्दोलन स्थलबाट कात्तिक २५ गते गिरफ्तार गरेको थियो । गिरफ्तार पर्नेमा २६ वर्षीया सम्झना लामा, ४९ वर्षीया लक्ष्मी थापा, ४७ वर्षीया बिमला वाग्ले, ३६ वर्षीया पार्वती थपालिया, ४९ वर्षीया सान थापा मगर, ५० वर्षीया सरस्वती पोखरेल,४२ वर्षीया सानी काली बोहरा, ३६ वर्षीया चौलागाई, ३६ वर्षीया मन्दिरा आर्चाय, ४० वर्षीया लक्ष्मी थापा मगर, ३४ वर्षीया रमा बोगटी ३१ वर्षीया गोमा गौतम, ३० वर्षीया तारा घिमिरे र ३१ वर्षीया अनिशा अधिकारी रहेका छन् ।

राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आफूहरुलाई बिना सूचना र बिना सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बस्दै आएको उनीहरूले बताएका छन् ।
आन्दोलनका क्रममा प्रहरीले चार जनालाई कुटपिट गरी घाइते बनाएको उनीहरूको आरोप छ । घाइते हुनेमा मुलपानीकी ३७ वर्षीया धनु दाहाल, एकान्तकुनाकी ४९ वर्षीया लक्ष्मी सारु मगर, सितापाइलाकी ३६ वर्षीया सावित्रा चौलागाई र सोही ठाउँकी ३४ वर्षीया रमा बोगटी थापा रहेको साबित्रा चौलागाईले जानकारी दिनु भयो । घाइतेहरूलाई वीर अस्पतालमा सामान्य उपचार गरिएको थियो ।
प्रहरीले धर्नारत १४ जनालाई बिहान ७ बजे गिरफ्तार गरी सिंहदरबारमा राखेको र साँझ ७ बजे छोडेको उनीहरूले बताए ।
धर्ना बसिरहेका मजदुरमाथि धरपकड भएपछि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गरी जेटीयूसीसीले कुटपीटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेको छ ।
