INSEC Online

📅 २०८३ जेष्ठ २२

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पर्यटन मन्त्रीसँग स्पष्टीकरण माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जितेन्द्रनारायण देवसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोपमा २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगको कात्तिक २५ गते काठमाडौँमा बसेको बैठकले सरकारी सवारी साधनको दुरूपयोग गर्नुका साथै विद्यालय परिसरमै निर्वाचन आचारसंहिता विपरीत आयोजित कार्यक्रममा सम्बोधन गरेको भन्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

कात्तिक २५ गते एक दैनिक पत्रिकामा प्रकाशित “विद्यालयमै सभा र मन्त्रीकै उपस्थितिमा आचारसंहिता विपरीत सभा” भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी साधनको दुरूपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काङ्ग्रेसको चुनावी सभामा प्रमुख अतिथिको रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत तपाइँलाई कारबाही किन नहुनु पर्ने हो ?’-आयोगले मन्त्री देवसँग सोधेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

आयोगले मन्त्री देवलाई आयोगको पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।

सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको काङ्ग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी भई मन्त्री देवले निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन् । सोसम्बन्धी समाचार र तस्वीर इन्सेक अनलाइनमा पनि प्रकाशन गरिएको थियो ।

यसैबीच निर्वाचन आयोगको कात्तिक २५ गते काठमाडौँमा बसेको बैठकले नेपाली काङ्ग्रेस सप्तरीका सभापति एवम् काङ्ग्रेसका तर्फबाट सप्तरी जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवले सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गरेको कार्य निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गर्दै २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत किन कारबाही नहुनु पर्ने हो ? भनी काङ्ग्रेस सप्तरीका सभापति एवम् उम्मेदवार यादवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

विभिन्न मिडियामा “विद्यालयमै सभा, कक्षा कोठा बने भान्छा कोठा” भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ ।

“निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत तपाइँलाई कारबाही किन नहुनु पर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गनुहोला’ आयोगले यादवलाई दिएको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी आयोगले सप्तरीको खुरहुरियास्थित जनता माविका प्रधानाध्यापक सूर्यनारायण यादवलाई समेत स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएकाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत किन कारबाही हुनु नपर्ने हो भन्दै प्रधानाध्यापक यादवसँग २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

अन्य

भिडियो