खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।

दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूला-ठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् ।
निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद २ को उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको ४ (झ) मा निर्वाचन प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
जिल्लामा केही समयअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको पुर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि आचारसंहिता विपरीत काम गर्नेलाई कारबाही गर्ने बताएका थिए ।
सदरमुकाम खाँदबारी बजारमा ध्वजापतका झैँ राजनीतिक दलहरूले पार्टीका झण्डा झुण्ड्याएका छन् । सदरमुकाम खाँदबारीका सार्वजनिक चौतारा, पोल तथा सार्वजनिक स्थानमा भित्ता नै नदेखिनेगरी पार्टीका झण्डा र पोष्टर टाँसिएका छन् ।
यो कार्य निर्वाचन आचारसंहिता विपरीत भएको निर्वाचन आचारसंहिता अनुगमन समिति सङ्खुवासभाका अनुगमन अधिकृत दिपकमणि घिमिरेले बताए । उनले यस विषयमा छलफल भइरहेको र चाँडै निर्णयमा पुग्ने बताए ।