आगामी मङ्सीर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल १ सय ६१ मतदान स्थलमध्ये ५२ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले बताएका छन् ।
१ सय ९ मतदानस्थललाई सम्वदेनशीलको सूचीमा रहेकोले उच्च शतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । निर्वाचन सुरक्षाका लागि जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको उनले जनाए ।
प्रमुख जिल्ला अधिकारी भट्टले विगतका निर्वाचनबाट पाठ सिकेर जिल्ला सुरक्षा योजना तयार गरिएको भन्दै सोही अनुसार सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । सुरक्षा निकायका चारै ओटा निकाय बिच सहकार्य गरेर नियमित चेक जाँच, निगरानीलगायतका काम भइरहेको उनले बताए ।
जिल्लाका ४ सय ८ ओटा मतदान केन्द्रको सुरक्षाका लागि ३ हजार २ सय ९६ जना जनपथ प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना रहेको एसपी थापाले बताए ।