जिल्ला मालपोत कार्यालय, बैतडीले निर्वाचन आचारसंहिता विपरीत कात्तिक २१ गतेदेखि प्रमाणित हलियाहरूको पुनःस्थापना अघि बढाएपछि बाम गठबन्धनले त्यसको विरोध गर्दै कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
प्रमाणीकरण भएका हलियाहरूलाई चालू आर्थिक वर्ष भित्र गर्नुपर्ने पुनःस्थापनाको काम अघि बढाउन निवेदन सङ्कलनको काम मालपोतले जारी राखेको गठबन्धनको अरोप छ ।
आचारसंहिता उल्लङ्घन गर्दै ‘हलियाहरूलाई सिफारिस गर्नु’ भनेर स्थानीय तहलाई मालपोत कार्यालयले पत्र काटेपछि गठबन्धनले उक्त कार्यको विरोध स्वरूप प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
हलिया पुनःस्थापना जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचनको अवधिमा पुनःस्थापनाको काममा राजनीतिक दलहरूले हस्तक्षेप गरी मतदातालाई लोभ्याउन सक्ने भएकाले उक्त कार्य रोक्न निर्देशन दिएको बताए ।
‘हलिया पुनःस्थापनाको काम रोक्न निर्देशन गरेको छु’-उनले भने । हलिया पुनःस्थापना जिल्ला कार्यसमितिको ससदस्यसचिव रहेको जिल्ला मालपोत कार्यालयले दशरथचन्द नगरपालिकाको दुर्गाभवानी र कोटिलाका ‘घ’ वर्गका मुक्त हलियाहरूलाई अनुदानबापत १ लाख २५ हजार रुपियाँ दिनुपर्ने भएकाले घर मर्मतका लागि लागत सिफारिस बनाउन पत्र पठाएको थियो ।
मालपोत कार्यालयले दशरथचन्द नगरपालिका-३ को वडा कार्यालयलाई पत्र पठाएको नेकपा एमाले जिल्ला कार्यालय सचिव सरस्वती नेपालीको भनाई छ ।
बैतडीमा प्रमाणीकरण भएका २ हजार २२ जना मुक्त हलियामध्ये बाँकी रहेका १ हजार मुक्त हलियाहरूको यसै आर्थिक वर्ष भित्र पुनःस्थापना गर्ने लक्ष्य रहेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख राजेन्द्रसिंह थापाले बताए ।