विराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि निशुल्क ‘महानगर अटिजम सेवा केन्द्र’ कात्तिक ७ गतेदेखि सञ्चालनमा ल्याएको छ ।
विराटनगर महागनरपालिका मेयर नागेश कोइराला र उपमेयर शिल्पा कार्कीले ०८१ कात्तिक ७ गते विराटनगर महानगरपालिका-४ दूधफारम स्थित ‘महानगर अटिजम सेवा केन्द्र’ को उद्घाटन गरेसँगै अटिजम सेवा केन्द्र सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा मेयर कोइरालाले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र भएको बताउनु भयो । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका हुनुहुन्छ, उहाँहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भन्नुभयो, ‘भित्रैदेखि चाहेको कुरा आज पुरा भएको छ ।
‘महानगर अटिजम सेवा केन्द्र’ का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको मेयर कोइरालाको भनाइ छ ।
अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपियाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपियाँको लागतमा महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर दीलिप यादवले बताउनु भयो ।
‘महानगर अटिजम सेवा केन्द्र’ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा पाँच जना बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्याङ्क अनुसार विराटनगर महानगरपालिकाभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।
महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ ।
केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ ।
केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ ।
अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी समस्या हो ।
जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढङ्गले काम गर्ने अटिजम विज्ञहरूको भनाइ छ ।
