प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम प्रहार भएको छ ।
कात्तिक २४ गते बिहान ९ः२० बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फजाँदै गर्दा चौरजहारी नपा-८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी दुई ओटा रेडबुलको बट्टामा बनाएको बम प्रहार गरिएकोमा सँगै रहेका सुरक्षाकर्मीको सजगताका कारण मानवीय क्षति हुन नपाएको बताइएको छ ।
एउटा बम पड्किएको र अर्को बमलाई नेपाली सेनाको टोलीले डिस्पोजल गरेको प्रहरीले जनाएको छ । यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) ले अनुसन्धान सुरू गरिसकेको डिएसपी राजेन्द्र धमलाले बताए ।
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न समूहले यो घटना गराएको हुनसक्ने भन्दै उनीहरूको खोजी कार्य जारी रहेको पनि डिएसपी धमलाले जानकारी दिए ।
घटनापछि नेकपा एमाले रूकुम (पश्चिम) का इञ्चार्ज शेरबहादुर केसी र नेकपा माओवादी केन्द्र रूकुम (पश्चिम)का इञ्चार्ज राजकुमार शर्माले संयुक्त प्रेस नोट जारी गर्दै घटनाको भत्सर्ना गरेका छन् ।
‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ताको रूपमा समेत रहनुभएका नेता शर्माले विभिन्न थ्रेटहरू सामना गरिरहेको सन्दर्भमा उहाँमाथि यो आक्रमण भएको छ ।’-प्रेस नोटमा भनिएको छ-‘जो कसैका नामबाट यो आक्रमण गरिएपनि नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व र समृद्धि विरोधी दलाल तत्वहरूको साँठगाँठ योजनाबद्ध रूपमा भएकोमा कुनै शङ्का छैन ।’
