आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारण गरिएका रूकुम (पश्चिम) का ७३ मतदानस्थल मध्ये नौ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको रूकुम (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।
सहायक प्रजिअ पुनका अनुसार ५७ ओटा सम्वेदनशील र सात ओटा मतदानस्थल सामान्य रहेका छन् । सम्वेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको उनको भनाई छ ।
समग्र जिल्लालाई भने अतिसम्वेदनशील मानेर सुरक्षा योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । रूकुम (पश्चिम) का ७३ मतदानस्थलमा १ सय ११ मतदान केन्द्र रहेका छन् ।
त्यस्तै रूकुम (पूर्व) का ३१ मतदानस्थल मध्ये १७ ओटा अति सम्वेदनशील, १२ ओटा सम्वेदनशील र दुई ओटा सामान्य रहेको रूकुम (पूर्व) का प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । यी ३१ मतदान स्थलमा जम्मा ४२ ओटा मतदान केन्द्र कायम गरिएको छ ।
पश्चिमको तुलनामा पूर्व भौगोलिक रूपले पनि विकट भएकोले सम्वेदनशील मतदान स्थल बढी छन् । रूकुम (पूर्व) मा पनि पहिलो चरणमा मङ्सिर १० गते नै मतदान हुँदैछ ।