INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचनलाई ऐतिहासिकरूपमा सफल तुल्याउँछौँ: प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिकरूपमा सफल तुल्याउन निर्वाचन आयोग दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गरिएका तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई जानकारी दिन कातिक २३ गते काठमाडौँमा आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने सोचलाई निरूत्साहन गर्न र निर्वाचन आचारसंहिता पालनामा जोड दिन आवश्यक रहेको बताएका छन् ।

निर्वाचनमा खटिने कर्मचारीहरूले निष्पक्ष एवम् स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले मतदानपछि मतपेटिकालाई सुरक्षितरूपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन र मङ्सिर २१ गतेको दोस्रो चरणको मतदान सम्पन्न भएपछि मतगणना सुरू हुने भएकाले त्यस अवधिसम्म मतपेटिकालाई व्यवस्थित एवम् विश्वसनीय तरिकाबाट सुरक्षित गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्रीहरू तथा मतदान केन्द्रको व्यवस्थापनसमेत अहिलेको चूनौती रहेको बताउँदै उनले मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने निर्वाचनलाई सफल तुल्याउन आयोगले सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

छलफलमा सहभागी सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्ति सुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

‘निर्वाचन हामी सबैको साझा लक्ष्य हो । निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौँ । आयोगसँग एकाकार भएर काम गर्नेछौँ । अहिले निर्वाचनमा खटिएका राष्ट्रसेवकबाट भइरहेको कार्य सम्पादनको अनुगमन भइरहेको छ ।’-मुख्य सचिव रेग्मीले भने ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सफल तुल्याउन सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहेको र सरकारबाट यस्ता किसिमका सहयोग, सद्भाव र प्रतिबद्धता निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता नैतिकता तथा सदाचारसँग समेत जोडिएकाले लोकतन्त्रको सुदृढीकरणका लागि आचारसंहिता पालना अत्यावश्यक रहेको बताए ।

अन्य

भिडियो