बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ ।
तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका बर्थिङ्ग सेण्टर प्रभावकारी बन्न नसकेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । अहिले सञ्चालनमा रहेका बर्थिङ्ग सेण्टरको सेवा प्रभावकारी बन्न नसकेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
तालिम प्राप्त जनशक्ति र उपकरणको अभावका कारणपनि कतिपय बर्थिङ्ग सेण्टरको सेवा प्रभावकारी बन्न सकेको छैन् । बर्थिङ्ग सेण्टरमा खटिने स्वास्थ्यकर्मी वा कर्मचारीको सरूवा प्रक्रियाले पनि बर्थिङ्ग सेण्टरको सेवामा प्रभाव पारेको पाइएको छ ।
नेपाल सरकारले सहज र छरितो गरी प्रसूति सेवा उपलब्ध गराउने हिसाबले बर्थिङ्ग सेण्टरको संरचना निर्माण गरेपनि भौतिक पूर्वाधारमा ध्यान नदिदाँ बर्थिङ्ग सेण्टर प्रभावकारी बन्न नसकेको सुनकोशी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक नेत्रबहादुर कट्वालले बताउनु भयो । तालिम प्राप्त नर्सको सरूवा भएपछि तत्काल अर्को तालिम प्राप्त नर्स नपठाउने गरेका कारण बर्थिङ्ग सेण्टर प्रभावकारी बन्न नसकेको स्वास्थ्य संयोजक कटुवालको भनाइ छ । कतिपय अवस्थामा आवश्यक मात्रामा उपकरणहरू नहुँदा पनि सेवा प्रवाहमा असहज हुने गरेको लिखु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख निदानाथ चौधरीले बताउनु भयो ।
तालिम प्राप्त जनशक्ति अभावले पनि सेवामा समस्या हुने गरेको मोलुङ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक मित्रमेनु ढकालको भनाइ छ ।
पुराना उपकरणहरूले बेलाबेला राम्रो काम गर्न नसक्दा पनि समस्या हुने गरेको भन्दै यसका लागि आवश्यक पहल भइरहेको मानेभञ्ज्याङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विश्वराज दाहालले बताउनु भयो ।
दशैं तिहारको समयमा पनि बर्थिङ सेन्टरको सेवा नरोक्ने किसिमले आवश्यक व्यवस्थापन मिलाइएको चिशंखुगढी गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक थिरप्रसाद भट्टराईले बताउनु भयो ।
चाडपर्वको बेला टाढाको कर्मचारी विदामा बस्नुपरेको बेला पनि सेवामा केही प्रभाव पर्ने चम्पादेवी गाउँपालिकाका सिनिअर अहेब ज्ञानबहादुर बस्नेतले बताउनु भयो ।
गाउँपालिकाको कतिपय ठाउँमा केन्द्रीय प्रसारण लाइन र नयाँ प्रविधिमैत्री उपकरण नहुँदा सेवामा असहजता हुने खिजिदेम्बा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्रप्रसाद गौतमले बताउनु भयो ।
बर्थिङ्ग सेण्टरमा सेवा लिनेको संख्यामा पनि कमी आएको सिद्धिचरण नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक आइतबहादुर राईले बताउनु भयो । नगरपालिका क्षेत्रभित्र दुई ओटा अस्पताल रहेकोले बर्थिङ्ग सेण्टरमा सेवा लिन आउने को सङ्ख्या कम रहेको राईको भनाइ छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा रहेका बर्थिङ्ग सेण्टरहरु व्यवस्थित नहुँदा सेवाग्राहीले समस्या भोग्नु परेको छ । जिल्ला अस्पतालकै बर्थिङ्ग सेण्टरको भवन जीर्ण रहेको र नियमित सरसफाइ नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
खानेपानीको अभाव, दुर्गन्धित शौचालय तथा पुराना उकरणका कारण बर्थिङ्ग सेण्टरमा सेवा लिन आउने महिलाहरूले समस्या भोग्नुपरेको महिला अधिकारकर्मी माया भण्डारीले बताउनु भयो । जिल्लाका पहाडी क्षेत्रहरू बाराहा स्वास्थ्यचौकी, रूपाटार स्वास्थ्य चौकी, स्वास्थ्य चौकी नेपालटार, स्वाथ्य चौकी मुकुर्चीमा प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरू सबै उपलब्ध हुनुपर्नेमा जस्तापाताले बनेका र कच्ची घरबाट सेवा दिनुपर्दा बर्थिङ्ग सेण्टर नै असुरक्षित अवस्थामा छन् ।
१४ ओटा सरकारी स्वास्थ्य चौकी अझै बर्थिङ्ग सेण्टरविहीन छन् । जिल्लाभित्र रहेका ४७ ओटा सरकारी स्वास्थ्य संस्था (जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी) मध्ये ३३ ओटामा मात्र अहिलेसम्म प्रसूतिगृह सेवा छ ।
सरकारले मातृशिशु मृत्युदर कम गर्न सुरू गरेको आमा सुरक्षा कार्यक्रम अन्तर्गत अनिवार्य रूपमा बर्थिङ्ग सेण्टरको व्यवस्था गर्ने नीति छ । तर, १४ ओटा स्वास्थ्य संस्थामा नभएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । ३३ ओटा सरकारी स्वास्थ्य संस्था विभिन्न नामका गैरसरकारी संस्था र स्थानीयको श्रमदानमा बनेका हुन् । १४ ओटा स्वास्थ्य संस्था नबन्दा परम्परागत रूपमै गर्भवती महिला सुत्केरी हुने गरेका छन् । संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।
यो हक कार्यान्वयनका लागि विभिन्न ऐन-नियम लागू भएका छन् । तीनैमध्येको एक हो-सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन-२०७५ । उक्त ऐनको दफा ५ र ६ मा गर्भवती सेवा प्राप्त गर्ने र प्रसूति सेवा दिइनुपर्ने व्यवस्था छ । तर, ऐनको व्यवस्था कार्यान्वय गर्न सरकारले अहिलेसम्म पनि आवश्यक संरचना र जनशक्ति तयार गर्न सकेको छैन । बर्थिङ्ग सेण्टरमा उपकरणहरू काम लाग्ने अवस्थामा नभएपछि सुत्केरी गराउन आउने महिलाहरू नीजि क्लिनिकमा धाउनुपर्ने बाध्यता रहेको बेलका नगरपालिका-८ कोठुकी बिन्दामाया तामाङले बताउनु भयो । बर्थिङ्ग सेण्टरमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि दशैं बिदामा बस्दा सेवाग्राहीहरूले गाईघाट, कटारी, नेपालटार, रामपुर, बेलटार लगायतका स्वास्थ्यसंस्थामा लैजानुपरेको सेवाग्राहीहरूको गुनासो छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा १६ ओटा बर्थिङ्ग सेण्टर छन् । अधिकांश बर्थिङ्ग सेण्टरमा एम्बुलेन्सको समस्या रहेको पाइएको छ । बिरामीलाई जिल्ला अस्पताल र देशका विभिन्न अस्पतालमा बिरामीलाई रिफर गर्दा भनेको समयमा एम्बुलेन्स गाडी नपाउने समस्याले गर्दा बिरामीको ज्यान पनि जान सक्ने अवस्था छ । जिल्लाका सबै बर्थिङ्ग सेण्टरमा बत्ती गइरहने र त्यसको वैकपिल्क व्यवस्था नहुँदा बर्थिङ्ग सेण्टर प्रभावकारी ढङ्गले सञ्चालन हुन सकेका छैनन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार दशैं बिदामा समेत बर्थिङ्ग सेण्टर सञ्चालनमा छन् । जिल्लाका विभिन्न स्थानमा रहेका ४० ओटा बर्थिङ्ग सेण्टर सञ्चालनमा छन् । जिल्लामा रहेका ४० ओटै बर्थिङ्ग सेण्टर सञ्चालन हुने भएको छ । जिल्लामा रहेका बर्थिङ्ग सेण्टर दशैं बिदामा समेत सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताउनु भयो ।
स्थानीय तहहरूले दशैं बिदामा समेत कर्मचारी व्यवस्थापन गरेर बर्थिङ्ग सेण्टर सञ्चालनमा रहेको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताउनु भयो । ४० ओटा बर्थिङ्ग सेण्टरमा करिव १ सय भन्दा बढी नर्सिङ कर्मचारी कार्यरत छन् । बर्थिङ्ग सेण्टर सञ्चालन भएपनि आवश्यक मात्रामा उपकरण नहुँदा समस्या हुने गरेको छ । जिल्लाका सबै बर्थिङ्ग सेण्टरमा बेवी वामर (बच्चालाई तातो बनाइने हिटर ) र वेबी र्यापर नभएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताउनु भयो ।
नियमित विद्युत आपूर्ति र भोल्टेज राम्रो नभएका कारण समान निर्मलीकरणमा समस्या हुने गरेको छ । बर्थिङ्ग सेण्टरमाहरूमा नावि मलम र सुत्केरी हुँदा खाने क्याल्सियम मौज्दात नभएको र निरन्तरता नभएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताउनु भयो । सबै बर्थिङ्ग सेण्टरमा मातृ सुरक्षा अभाव भएको पाइएको छ । बर्थिङ्ग सेण्टरमा एक जना मात्र कर्मचारी हुदाँ सञ्चालन समस्या आउने गरेको छ ।