INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पीडितहरूले निर्वाचन बहिष्कार गर्ने चेतावनी

सुर्खेत र बर्दियाका बाढी पीडितहरूले उचित घरबासलगायतका आफ्ना माग पुरा नगरिए आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

Photo20171107Surkhet

सुर्खेतको बराहताल गाँउपालिका-२ गिरीघाट खोलामा कात्तिक २१ गते आयोजित प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगको भेलामा उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

गत ०७१ साउन महिनाको अन्तिम हप्तामा आएको अविरल वर्षापछिको बाढीले घरबास गुमाएका बर्दिया र सुर्खेत जिल्लाका बाढीपीडितहरूले निर्वाचन पूर्व आफ्ना माग पुरा नगरिए निर्वाचन बहिष्कार गर्नुकोसाथै कुनैपनि राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आफनो बस्तीमा छिर्न समेत नदिने उद्घोष गरेका थिए ।

बाढीपीडितहरूले भारतको केदारनाथमा बाढीपहिरो जाँदा भारत सरकारले १५ दिनभित्रै त्यहाँका बाढी पीडितको समस्या समाधान गरेको स्मरण गराउँदै भेलामा उपस्थित सुर्खेतका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई बाढी पीडितहरूले विगत चार वर्षदेखि भोग्दै आएको पीडा बुझेर समाधान गर्न सुझाव दिए ।

भेलामा गिरीघाट खोलामा बस्दै आएका बाढीपीडित अम्मरसिंह मगर र बाढीपीडित सङ्घर्ष समिति बर्दियाका मिनराज देवकोटाले स्थानीय तहको निर्वाचनमा आफुहरूलाई राजनीतिक दलहरूले झुक्याएर भोट बैङ्कको रूपमा प्रयोग गरेपनि आसन्न निर्वाचनमा भने दल तथा उम्मेदवारहरूले भोट बैङ्कको रूपमा प्रयोग गर्ने मनसाय त्याग्नुपर्ने बताए ।

भेलामा उपस्थित सुर्खेतका प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम राजनीतिक दलका नेताहरूले बाढी पीडितले उठाएका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सुर्खेत क्षेत्र नं २ बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नवराज रावत, नेपाली काङ्ग्रेसबाट क्षेत्र नं २ प्रदेश सभा सदस्य एवम सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्ट, प्रदेश नं २ बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार विन्दमान विष्ट, एमाले सुर्खेतका सचिव मोहन बडुवाल र माओवादी केन्द्र सुर्खेतका संयोजक नरबहादुर विष्टले स्थायी सरकार नबनेसम्म बाढी पीडितले भौग्दै आएको समस्या समाधान हुन नसकेको जिकिर गरे ।

अन्य

भिडियो