कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली काङ्ग्रेस समर्थकलाई मात्र वितरण गरेको आरोपमा उनीहरूविरूद्ध ०७४ कात्तिक २० गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेको छ ।
निर्वाचनको समयमा मत प्रभावित पार्ने गरी एउटा पार्टी निकटका व्यक्तिलाई मात्र पक्षपातपूर्ण ढङ्गले राहत बाँडेर आचारसंहिताको समेत उल्लङ्घन गरेको जनाउँदै स्थानीयले उनीहरूविरूद्ध उजुरी दिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिएका छन् ।
त्यसैगरी विराटनगरबाट प्रकाशित हुने न्यू श्रृष्टी दैनिक पत्रिकाविरूद्ध समेत पार्टीको मुखपत्र जस्तो एकपक्षीय समाचार सम्प्रेषण गरिरहेको जनाउँदै कात्तिक २० गते नै उजुरी परेको सो क्षेत्रीय कार्यालयले जनायो । उजुरी परेको आधारमा सम्बन्धित व्यक्ति र संस्थालाई लिखित सचेतपत्र पठाइएको प्रमुख सञ्जेलले बताए ।