दोस्रो चरणमा मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरूलाई कात्तिक १९ गते ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
कात्तिक १६ गते प्रतिनिधि सभा सदस्यतर्फ१ सय २८ र प्रदेश सभा सदस्यतर्फ२ सय ५६ पदका लागि उम्मेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
आयोगका अनुसार कायम रहेका ४ हजार ७ सय ४७ जना उम्मेदवारहरूमध्ये कात्तिक १९ गते साँझ ६ बजेसम्म प्राप्त विवरण अनुसार दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २ सय ५८ जनाको उम्मेदवारी फिर्ता गरी जम्मा २ सय ६४ जना व्यक्तिको नाम उम्मेदवारहरूको सूचीबाट हटाइएको छ । निर्वाचन चिन्ह प्रदान गरिएका उम्मेदवाहरूको अन्तिम विवरण जिल्लाबाट आउन बाँकी रहेको आयोगले जनाएको छ ।