INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सक्रिय रूपमा कार्यक्षेत्रमा खटिन प्रमुख अनुगमनकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पहिलो चरण अन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अनुगमनमा कात्तिक २० गतेदेखि खटिने नेपाल सरकारका सचिव एवम् सहसचिवहरूका लागि आयोजित अभिमूखीकरण कार्यक्रमको कात्तिक १९ गते उदघाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनताको मतबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ काम गर्न आवश्यक रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कारबाही गर्न निर्देशन दिँदै विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरूको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवम् सहकार्य गरेर काम गर्न निर्देशन दिए ।

निर्वाचन सञ्चालनका क्रममा तथा निर्वाचन आचारसंहिता पालनाका सम्बन्धमा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्नसमेत उनले निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

अन्य

भिडियो