निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची कात्तिक १७ गते सार्वजनिक गरेको छ ।
आयोगस्थित प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयले ०७४ मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फदलहरूले पेश गरेको बन्दसूची सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरूले असोज २९ गते आयोगको कार्यालयमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फप्रतिनिधि सभा सदस्यका लागि ४९ र प्रदेश सभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए ।
समानुपातिक निर्वाचन प्रणालीतर्फा निर्वाचन अधिकृत एवम् निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आयोगमा पत्रकार सम्मेलन गर्दै बन्दसूची सार्वजनिक गरेका हुन् । बन्दसूची सार्वजनिक गर्दै पौड्यालले समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूची समावेश भएको बताएका छन् ।
सार्वजनिक गरिएको बन्दसूची अनुसार आदिबासी पुरूष ७ सय ८३, महिला ९ सय ३१ र अन्य १, खस आर्य पुरूष ८ सय ६७ र महिला ९ सय ९७, थारू पुरूष १ सय ५८ र महिला २ सय ६२, दलित पुरूष ३ सय ४२ र महिला ४ सय ९६, मधेसी पुरूष ४ सय ५५ र महिला ५ सय ६३, मुस्लिम पुरूष ८१ र महिला १ सय ५७ उम्मेदवार रहेका छन् । यसैगरी, अपाङ्गता भएका पुरूष १ सय ५८, महिला १ सय १५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १ सय ७ र महिला १ सय २२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको छ ।
उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभाका हकमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएको भए सो सम्बन्धमा सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिने व्यवस्था रहेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
ढकालका अनुसार समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अनुसार कात्तिक १८ गतेदेखि कात्तिक २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ ।
यसैगरी कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने आयोगले जनाएको छ । जाँचबुझ पश्चात् बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशित गरी मङ्सिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गरिने आयोगले जनाएको छ ।