कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले ०८१ असोज ७ गते आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ की १९ वर्षीया शर्मिला सुनारको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले आन्दोलन गरेका हुन् । सुत्केरी व्यथा लागेपछि सुनार ०८१ असोज ६ गते बिहान ११ बजे प्रदेश अस्पताल, सुर्खेतमा जानुभएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।

बेथा लागेपछि भर्ना हुनुभएकी शर्मिलाको बच्चा नचलेको र मृत बच्चा जन्मिएपछि रक्तस्राव भइ आइसियुमा राखेर उपचार गर्दै गर्दा राति मृत्यु भएको प्रदेश अस्पताल, सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताउनु भयो । ‘अस्पताल भर्ना गरेपछि बच्चा चलेको थिएन । राति मृत बच्चा जन्मियो । सुत्केरीलाई ज्वरो पनि आएको थियो । राति रक्तस्राव अत्याधिक भयो । रक्तस्रावपछि सुत्केरी बेहोस हुनुभयो । आइसियुमा राखेर उपचार गरिरहेको बेला मृत्यु भयो’, सूचना अधिकारी बस्नेतले भन्नुभयो ।

यता आफन्तहरूले भने डाक्टरले असोज ६ गते बिरामीको अवस्था सामान्य भनेको र एक्कासी असोज ७ गते बिहान ४ बजे प्रहरी बोलाएर मृत्युको खबर सुनाएको हुँदा डाक्टरकै लापरवाहीका कारण सुत्केरी र बच्चाको ज्यान गएको आरोप लगाएका छन् ।
‘अघिल्लो दिन राम्रै छ भनेको र पछिल्लो दिन बिहान मृत्युको खबर दिनुअघि अस्पतालमा प्रहरी बोलाइयो । अहिलेसम्म बच्चा छोरा होकी छोरी केही जानकारी छैन । त्यसैले डाक्टरकै लापरवाही हो । अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाही गर्नुपर्छ । नभए हामी निरन्तर आन्दोलन गछौँ’, मृतककी आमा रुपकला विकले भन्नुभयो ।
आफन्तले आन्दोलनका क्रममा अस्पताल बाहिरका गमला तोडफोड गरेपछि सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । मृतकका आफन्त र प्रशासनबिच पहिलो चरणको वार्ता बसेपनि सहमति हुन सकेको छैन । उक्त घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका मानव अधिकावादी सङ्घसंस्थाले समेत घटनाको विषयमा अनुगमन गरेका छन् ।




