प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बढीभन्दा बढी जनसहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् मर्यादित रूपमा सम्पन्न गर्नका लागि सरकारको तर्फबाट आवश्यक सहयोग जारी रहने बताउँदै प्रधानमन्त्री देउवाले आयोगसँग यस्तो आग्रह गरेका हुन् ।
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्तापछि आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोलीले प्रधानमन्त्री देउवालाई कात्तिक १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको थियो ।
‘मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्नेगरी वातावरण बनाउनुहोस् ।’-देउवाले भने-‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापनमा आयोगको ध्यान जानु आवश्यक छ ।’
मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै उनले अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्नमा आयोगको महत्वपूर्ण भुमिका रहने बताए ।
प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन सम्पन्न गर्नका लागि आयोगबाट गर्नुपर्ने कार्यहरू द्रुत गतिमा भइरहेको जानकारी गराएका थिए ।
सरकारको प्रतिबद्धताका कारण स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्मरण गर्दै यादवले अगामी मङ्सिरमा हुने दुई चरणको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनमा पनि सहयोग हुनेमा विश्वस्त रहेको बताए ।