चौतारा कारागारमा रहेका कैदीबन्दीबिच भएको विवादले चर्को रुप लिन खोजेपछि विवादमा संलग्न रहेका आरोपित चार जनाको जेल सरुवा गरिएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनले विवादमा संलग्न कैदीबन्दीलाई असोज १ गते अन्यत्र जिल्लामा रहेका कारागारमा सरुवा गरेको जिल्ला कारागारका निमित्त जेलर मानबहादुर बिकले बताउनु भयो ।
बलात्कार मुद्दाका कैदी भरत दङ्गाल र रोनन तमाङलाई नुवाकोट जिल्लाको कारागारमा पठाइएको छ भने बलात्कार मुद्दाकै कैदी आइसु लामा र नविन मांकलाई काठमाडौँस्थित सेन्टर जेल सरुवा गरिएको चौतारा कारागारका चौकिदार धनबहादुर भारतीले बताउनु भयो ।
सात जना महिला राख्न निर्माण गरिएको कारागारमा १ सय ४९ जना कैदीबन्दी राखिएपछि चौतारा कारागारभित्र रहेका कैदीबन्दीले विभिन्न असुविधा व्यहोर्दै आएका थिए ।
जेलभित्र रहेको धारा र शौचालयमा पालो कुरेर जानुपर्ने विषयको सामान्य विवादले भदौ ३१ गते चर्को रुप लिएपछि कारागारभित्र रहेका कैदीबन्दीबिच समस्या उत्पन्न भएको थियो ।
क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा सुत्न, खान, घुमफिर गर्न, ट्वाइलेट जान, नुहाउन लगायतका विभिन्न समस्या भएको चौकिदार भारतीले बताउनु भयो ।
हाल यो कारागारमा ९६ जना कैदी र ५३ जना थुनुवा गरी १ सय ४९ जना पुरुष कैदीबन्दी राखिएको छ ।