INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा थुनुवा फरार

जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साह उपचारका क्रममा अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ०८१ भदौ २५ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएका साह उपचारका क्रममा भदौ ३० गते बिहान फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिलन केसीले बताउनु भयो ।

निमोनिया भएपछि अस्पताल भर्ना गरिएका साह अस्पतालको दोस्रो तलाबाट फाल हालेर बाहिर निस्किएको र उनलाई उनकी पत्नीले स्कुटरमा राखेर भगाएको प्रहरीले जनाएको छ ।

मेची प्रादेशिक अस्पतालले थप उपचारका लागि भद्रपुरमै रहेको ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भदौ २५ गते रेफर गरेको थियो ।

अस्पतालमा सुरक्षाका लागि खटिएका दुई जना सुरक्षाकर्मी मध्ये एकले मदिरा सेवन गरी अस्पतालको अर्को वार्डको ढोका ढक्ढक्याएको विषयमा विवाद बढेको मौकामा आरोपित फरार भएको सिसि टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

१६ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतको ०८१ भदौ ५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।

फरार थुनुवाको खोजी थालिएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा हतकडी नलगाइएकोले साहलाई भाग्न सहज भएको प्रहरीको भनाइ छ ।

अन्य

भिडियो