निर्वाचन आचारसंहिता विपरीत लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूले धादिङको उत्तरी क्षेत्रमा दुई दिनदेखि हेलिकप्टरको प्रयोग गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नं २ का तर्फाट नेपाली काङ्ग्रेसका उम्मेदवार दिलमान पाख्रिन र राप्रपाका समानुपातिक उम्मेदवार बुद्धिमान तामाङले आचारसंहिता विपरीत हेलिकप्टर चढेर निर्वाचन प्रचारको कार्यक्रम गरेका हुन् ।
उम्मेदवारहरूले कात्तिक १५ गते सेर्तुङको छापथोकमा, कात्तिक १५ गते तिप्लिङको लब्दुङमा र कात्तिक १६ गते लापाको सदाचेतमा हेलिकप्टरबाट पुगेर निर्वाचन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
श्रीएयरको हेलिकप्टर लिएर निर्वाचनको कार्यक्रमलाई सम्बोधन गर्न दिनदिनै हेलिकप्टर गाउँमा आएको गाउँबासीले समेत जानकारी दिएका छन् । तिप्लिङका पेम्बा तामाङले दुई दिनदेखि गाउँमा हेलिकप्टर आएको र नेताहरूले चुनावी प्रचार अभियानलाई सम्बोधन गरेको जानकारी दिए ।
पार्टी निर्वाचन प्रचारका लागि देशभरका लागि दुई ओटासम्म हेलिकप्टर निार्वचन आयोगको स्वीकृतिमा प्रयोग गर्न पाउने निर्वाचन आचारसंहितामा उल्लेख भएपनि निर्वाचन आयोगसँग स्वीकृति नलिई प्रयोग गरिएको हेलिकप्टर आचारसंहिता विपरीतको कार्य हो ।