आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पूर्व इन्सेक केन्द्रीय कार्यलय र क्षेत्रीय कार्यालय पोखराले कात्तिक १४ गते जिल्लाको मानव अधिकारको अवस्था तथा आसन्न निर्वाचनको पूर्व अवस्थाका बारेमा अनुगमन गरेको छ ।
जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, महिला अधिकारकर्मी, पत्रकारलगायतसँग भेटघाट गरी मानव अधिकारको अवस्थाका बारेमा छलफल गरिएको हो ।
छलफल निर्वाचनको पूर्व अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा राजनीतिक दलका गतिविधिमा केन्द्रीत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालल आफू प्रमुख जिल्ला अधिकारीको रूपमा आएपछि सर्वदलीय बैठक राखी आगामी चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको बताए ।
उनले सुरक्षा अवस्थाको सम्वेदनशीलता हेरेर पटकपटक सुरक्षा समितिको बैठक बसी सुरक्षा रणनीति तयार गरिएको बताए । भुसालले स्थानीय तहका नगर प्रमुख, गाउँ प्रमुख र निर्वाचन कार्यालयलाई मतदाता शिक्षा प्रभावकारी बनाउन अनुरोध गरेको बताउँदै जिल्लाको मानव अधिकारको अवस्था समग्रमा सामान्य रहेको र जिल्ला प्रशासन कार्यालय मानव अधिकारको सम्बर्द्धनप्रति प्रतिबद्ध रहेको बताए ।
जिल्ला प्रहरी कार्यलय प्रमुख डिएसपी एकनारायण कोइरालाले जिल्लाको मानव अधिकारको अवस्था सामान्य रहेको बताए ।