२१ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर हवाईमार्ग हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १२ गते दिउँसो भैरहवा एयरपोर्टबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ ।
प्रहरीले सियारी गाउँपालिका-६ का ३२ वर्षीय सफिक अहमद मुसलमानलाई गिरफ्तार गरिएको र सियारी गाउँपालिका-६ का ४० वर्षीय राज्य बेगम, काभ्रे जिल्ला गुराँसेका ३५ वर्षीय खडकबहादुर तामाङ र रामेछाप जिल्ला हिलदेवी गाउँपालिका-२ की २३ वर्षीया सविना तामाङ फरार रहेको जनाएको छ ।
पीडित महिलालाई आरोपितहरूले प्रलोभन देखाएर हवाईमार्ग प्रयोग गरी बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।
दुवई जान हिँडेकी महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र आरोपित तथा पीडितबिच राम्रोसँग चिनजान पनि नभएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।