INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लाका पाँच ओटा वडा बालविवाह मुक्त घोषणा

जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडामध्ये पाँच ओटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह विरुद्धको अभियान प्रभावकारी बनाइ जिल्लाका पाँच ओटा वडाले बालविवाह मुक्त वडा घोषणा गरेको हो ।

Photo26082024Jumla

बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका–५, पातारासी गाउँपालिका–४, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४ र हिमा गाउँपालिका–१ हुन् । नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने सरकारको दिगो विकास लक्ष्य रहेको छ । सोही अन्तर्गत गैरसरकारी संस्थाहरूको सहयोग र समन्वयमा स्थानीय तहले बालविवाह मुक्त वडा घोषणा गरिरहेका छन् ।

जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा गर्न स्थानीय तहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र स्थानीय तह बाल अधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको छ ।

कनकासुन्दरी गाउँपालिका–५ वडाले सूचक पूरा गरेकोले घोषणा गरिएको कनकासुन्दरी गाउँपालिका–५ का वडा अध्यक्ष विस्नबहादुर बडुवालले बताउनु भयो । यस वडामा १ हजार ३ सय ९० जनसङ्ख्या रहेको वडा अध्यक्ष बडुवालले जानकारी दिनुभयो । वडामा पाँच ओटा बस्ती रहेका छन् । वडाभित्र सबै सूचक पूरा भएको र बालविवाह शून्यमा भएको यकिन भएपछि घोषणा गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनु भयो ।

अध्यक्ष आचार्यका अनुसार वडामा विभिन्न अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ । बालविवाह हुन नदिन र भएमा कानुनी प्रक्रिया अवलम्बन गर्ने सहितका सूचक पूरा गरेपछि बालविवाह मुक्त घोषणा गरिएको उहाँको भनाइ छ । उहाँले २० वर्ष नपुगी विवाह गर्न नहुने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो । बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना भराउने कानुनी प्रावधान रहेको अध्यक्ष आचार्यले उल्लेख गर्नुभयो ।

अन्य

भिडियो