INSEC Online

📅 २०८३ जेष्ठ २१

जयेन्दु बालसुधार गृहबाट एक जना बालक फरार

डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट एक जना बालक ०८१ भदौ ८ गते बेलुका फरार भएका छन् ।

दाङ जिल्लाको १६ वर्षीय बालक बाइक चोरी मुद्दामा पुर्पक्षका लागि एक महिना पहिला थुनामा आएको बालसुधार गृहका प्रमुख विमला काउचा मगरले बताउनु भयो । उहाँले मौका छोपेर बेलुकाको समयमा फरार भएको उल्लेख गर्नुभयो ।

बेलुका प्रहरीहरू खाना खाइरहेको समयमा गेटमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याई मुख्य गेटबाट नै फरार भएको र प्रहरीहरूले खोजी कार्य गरेपनि भेटाउन नसकेको प्रमुख काउचा मगरले बताउनु भयो । बालबन्दीहरूलाई सुत्न र खान समस्या नभएको बताउँदै १६ वर्षीय बालक विवाहित भएको प्रमुख काउचा मगरको भनाइ छ । पटक पटक पत्नीको कुरा गरिरहेको र याद आएर फरार भएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले सुधार गृहबाट फरार भएका बालकको सबै तिर समन्वय गरी खोजी भइरहेको बताउनु भयो ।

जयेन्दु बालसुधार गृहमा क्षमता भन्दा बढी बालबन्दी राख्दा बालकहरूको पठनपाठनमा समस्या भएको छ । जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचा मगरका अनुसार १ सय ९० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २ सय ६३ जना बालकहरू राखिएको छ । बालसुधार गृहको भौतिक संरचनाको अभाव हुँदा ठूलो क्षेत्रफल भए तापनि बाउन्डरी वाल होचो भएको र विना युनिफर्ममा १२ जना प्रहरीले २ सय ६३ जना बालबन्दीहरूलाई व्यवस्थापन गर्न गाह्रो भएको प्रमुख काउचा मगरले बताउनु भयो ।

अन्य

भिडियो