INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा ३१ प्रतिशत बालबालिका पूर्ण स्तनपानबाट वञ्चित

जिल्लाका ३१ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएका छन् । पछिल्लो समयमा बढ्दै गएको आधुनिकता, कामको व्यस्तता, सामािजक सञ्जालको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डर जस्ता कारणले स्तनपान गराउने आमाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ । जसका कारण नियमित स्तनपानबाट बालबालिकाहरू वञ्चित भएका हुन् ।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिइँदै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । तर पछिल्लो समय पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको स्वास्थ्य सेवा कार्यालय, सल्यानको तथ्याङ्कले देखाएको छ । जसले गर्दा लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।

स्वास्थ्य व्यवस्थापन प्रणालीको तथ्याङ्कलाई विश्लेषण गरेर हेर्ने हो भने जिल्लामा अझै पनि ३१ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित रहेको कार्यालयका तथ्याङ्क अधिकृत हरि घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५०.२ प्रतिशत र गएको आर्थिक वर्ष २०८०/८१ मा ७१.१ प्रतिशत बालबालिकाहरूले ६ महिनासम्म आमाको दुधमात्र खुवाएको पाइएको छ । प्रत्येक महिना स्वास्थ्य संस्थामा गरिने बालबालिका वृद्धि अनुगमनको आधारमा यस्तो पाइएको उहाँको भनाइ छ ।

जिल्लाका दश ओटै स्थानीय तहको तथ्याङ्क हेर्दा त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम ३९.५ प्रतिशत बालबालिकाले मात्रै पूर्ण स्तनपान गरेका छन् । यस्तै छत्रेश्वरी गाउँपालिकाका ४७ प्रतिशत, शारदा नगरपालिकाका ५२.७ प्रतिशत, कुमाख गाउँपालिकाका ६३.४ प्रतिशत, सिद्ध कुमाख गाउँपालिकाका ६४.३ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान गरेका छन् । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका ६४.८ प्रतिशत, कालिमाटी गाउँपालिकाका ७२.९ प्रतिशत, दार्मा गाउँपालिकाका ९१.४ प्रतिशत, बागचौर नगरपालिकाका ९५.७ प्रतिशत र सबै भन्दा धेरै कपुरकोट गाउँपालिकाका ९८.९ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान पाएको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य सेवा कार्यालय, सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउने र जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनेको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनु भयो । तर पनि जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या भने कम रहेकोले बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएको उहाँको भनाइ छ । शिशुका लागि आमाको दूध अमृत समान मानिन्छ ।

तर, पछिल्लो समय खास गरी आमाको दूध नआएको लगाएतका कारण बट्टाको दूध खुवाउने तथा ६ महिना नपुग्दै पुरक आहार सुरु गर्ने प्रवृत्ति बढ्दै गएको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाह अनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।

अन्य

भिडियो