नाम्खा गाउँपालिका–५ स्थित हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले नियमित रूपमा लगाउँदै आएको खोप सञ्चालन नभएपछि सो क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित भएका हुन् ।
गत वैशाखदेखि नियमित रूपमा लगाउने खोप नपाएको स्थानीय पामा तामाङले गुनासो गर्नुभयो । उहाँका अनुसार नाम्खा गाउँपालिकाका अन्य बालबालिकाले उक्त खोप पाए पनि हिल्सा बजारमा रहेका पाँच वर्ष मुनिका बालबालिकाले खोप नपाएका हुन् । हिल्सादेखि मुचु स्वास्थ्य चौकी पुर्याउन करीव आधा दिन लाग्ने भएको र उनीहरूलाई असहज हुने भएकाले करीव पाँच महिनादेखि उक्त सेवाबाट वञ्चित हुनु परेको स्थानीय तामाङले उल्लेख गर्नुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखालाई पटकपटक जानकारी गराउँदा सुनुवाई नभएको तामाङको भनाइ छ । स्वास्थ्य जस्तो संवेदनलशील क्षेत्रमा गाउँपालिकाले लापरवाही गर्दा आफ्ना बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको स्थानीय गुर्मु लामाले गुनासो गर्नुभयो ।
नेपाल सरकारको नीति अनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक महिना खोप लगाउने व्यवस्था गरिएको छ । बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस बि, लहरेखोकी, धनुषटङ्कार, निमोनिया र जापानिज इन्सेफलाइटिस विरुद्ध खोप लगाउनु पर्ने हो । तर उक्त खोप पाउनबाट वञ्चित भएसँगै विभन्न किसिमका रोग देखा पर्ने गरेको स्थानीय लामाले जानकारी दिनुभयो । खोप सञ्चालन नभएका कारण बालबालिकामा ज्वरो, निमोनिय, लहरे खोकी, झाडापखाला जस्ता रोगहरू देखा पर्ने गरेको लामाले बताउनु भयो ।
सो विषयमा नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ग्याछो लामासँग बुझ्दा उहाँले हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्था नभएका कारण बालबालिका छुट्ने गरेको बताउनु भयो । उहाँले उक्त क्षेत्रमा रहेका बालबालिकालाई मुचु स्वास्थ्य चौकी मार्फत खोप लगाउनु पर्ने उल्लेख गर्नुभयो । खोप लगाउन छुटेका बालबालिकालाई अब छिट्टै खोप लगाउने अभियान सञ्चालन गर्ने संयोजक लामाको भनाइ छ ।