INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीहरूमा ग्याष्ट्रिक, मानसिक र श्वासप्रश्वासको समस्या

जुम्ला कारागारका कैदीबन्दीहरूमा ग्याष्ट्रिक, मानसिक, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । ०८१ भदौ १ गते जुम्ला कारगारामा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण गर्दा कैदीबन्दीमा यस्तो समस्या देखिएको हो । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाको समन्वयमा शिविर सञ्चालन गरी कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Photo18082024Jumla1

कारागारमा रहेका पाँच जना महिलासहित १ सय २० जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको जेलर गयाप्रसाद पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानका डाक्टर शुभाङक प्याकुरेल नेतृत्वमा आएको पाँच जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।’

स्वास्थ्य परीक्षणमा विशेषगरी कैदीबन्दीमा ग्याष्ट्रिक, मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको डाक्टर प्याकुरेलले बताउनु भयो । यसअघि साउन २० गते खत्याड गाउँपालिका–३ घरभइ हाल जुम्ला कारागारमा रहेका ३४ वर्षीय प्रदिप टमटाको मृत्यु भएको थियो । उच्च रक्तचापका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतीले स्वास्थ्यमा ध्यान नदिएमा जोखिम हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘समय समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । सोही बमोजिम कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्य गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेला बेलामा स्वास्थ्य परीक्षण गरेमा अचानक हुने मृत्युबाट बच्न सकिन्छ । खानपिन र आहारविहारमा ध्यान दिन सकेमा स्वास्थ्यमा आउने समस्याबाट बच्न सकिने उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सुधार गृहका रूपमा राज्यले कारागारलाई विकास गर्न खोजेको बताउनु भयो । विभिन्न कारणले जेल जीवन बिताइरहेका कैदीबन्दीलाई सीप विकास तालिम सञ्चालन गर्न समन्वय र सहजीकरण गर्ने उहाँले भनाइ छ ।

Photo18082024Jumla

अन्य

भिडियो