INSEC Online

📅 २०८३ जेष्ठ २१

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी  !

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ जना कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल १ सय १३ जना कैदीबन्दी छन्।

एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान रहेकामा मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन। पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन्।

गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन्। कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताउनु भयो।

“यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ। स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुईँमा एकैठाउँमा सुत्दा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ ।”-उहाँले भन्नु भयो।

गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गरे। “निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युँझिदा शरीरभरि एलर्जी हुन्छ। एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ ।”- उहाँले भन्नु भयो।

खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नु भयो । कारागारका नाइके शम्भुलाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खानका साथै स्वास्थ्यमा समस्या हुन थालेको बताउनु भयो ।

उहाँले भन्नु भयो-“यहाँ उडुस र लामखुट्टे छन्। गर्मीमा बिजुली बत्ती र पर्याप्त पङ्खा नहुँदा गर्मीले बस्न, सुत्न सकिँदैन, ठाउँको पनि अभाव छ ।”-उनले भने।

कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताउनु भयो । “गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन्। कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भइको छ ।”- उहाँले भन्नु भयो।

मापदण्डअनुसार आधुनिक संरचना निर्माण गरी कैदीबन्दीको जीवन सहज बनाउन उहाँले सरोकार भएकासँग आग्रह गर्नु भयो भयो। “राति जसोतसो बसेर रात कटाउने गर्छौँ, दिउँसोभित्र बस्दा गर्मी, बाहिर निस्किदा घामले पोल्ने समस्या छ। यसरी दिनरात कटाउँदा स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्न थालेको छ ।”-कैदीबन्दी थापाले भन्नु भयो ।

यहाँ भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा सबै बस्ने गरेका उहाँले बताउनु भयो।सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमिता मरासिनीले बताउनु भयो।

“कारागार भवन धेरै पुरानो हो । विसं २०७२ मा गएको भूकम्पले कारागारको पर्खाल भत्किएको थियो । अहिले पनि उक्त पर्खाल जीर्ण हुँदा जोखिम उत्तिकै छ ।”-उनले भने।

कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको बताउँदै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताउनु भयो।

“यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन् ।”-उहाँले भन्नु भयो । निमित्त जेलर मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिनु भयो।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको बताउनु भयो। “हामीले सम्बन्धित निकायलाई यहाँको समस्याका बारेमा जानकारी गराएर समाधानको पहल गरिदन आग्रह गरिरहेका छौँ ।”-उहाँले भन्नु भयो ।

अन्य

भिडियो